पर्वतारोहण
तेञ्जिङ्ग नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा विश्वकै अग्लो हिमाल चोमोलुङ्गमा
(तिब्बती भाषामा सगरमाथा ) को सफल आरोहण गरेपश्चात शेर्पाहरु परम्परागत पेसाबाट पर्यटन तथा पर्वतारोहण पेसामा आबद्ध हुन थाले (Hunt, 1993) । पर्वतारोहणमा शेर्पा महिलाहरु भने धेरै पछाडिदेखि मात्र संलग्न भएको पाइन्छ। शेर्पा महिलाहरुमा जोखिम पर्वतारोहणको सुरुवात भने जुङ्ग जुनबेंसी सोलुखुम्बुकी ङ्गिमी शेर्पाले गरेकी थिइन्। उनले सन् १९८५ मा ७,८६५ मिटर अग्लो नुप्चे हिमालको बिना अक्सिजन सफल आरोहण गरेपछि अन्य महिलाहरुमा यस साहसिक क्षेत्रप्रति उत्सुकता जागृत हुन गयो। सन् १९९३ मा स्व. पासाङ्ग ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिन्। उनी मरणोपरान्त नेपालको राष्ट्रिय विभूतिसमेत घोषित भइन। हालसम्म एक दर्जनभन्दा बढी शेर्पा महिलाहरुले सगरमाथालगायत विभिन्न हिमालहरुको आरोहण गरी साहसिक इतिहास कोरिसकेका छन् र यो क्रम जारी पनि छ। विदेशमा जस्तो एकपटक सगरमाथाको आरोहण गरेपश्चात आरोहीको नाम, मान तथा जीवनस्तरमा प्रबल परिवर्तन आउने अवस्था नेपालमा भने नरहेको तितो सत्य हो। शेर्पा जातिबाट भएको यो कदमको सकारले प्रशंसा गर्नैपर्छ।

Comments
Post a Comment