सिकाइको स्तर परीक्षण
विद्यार्थीको सिकाइको नियमित र निरन्तर उपलब्धिलाई मापन गर्न सकिन्छ। यो परीक्षणको आधारमा सिकारुलाई अर्को कक्षामा अध्ययनका लागि सिफारिस गरिन्छ। यी सबै कार्य पाठ्यक्रमका आधारमा गर्ने गरिएको हुन्छ। विद्यार्थीहरुको सिकाइ उपलब्धिको आँकलन गर्न विश्वमा विभिन्न अभ्यास भएका छन्। यो निश्चित अवधिमा उपयुक्त संयन्त्रको सहयोगमा संचालन गर्ने गरिन्छ। यस प्रकारको उपलब्धि मापन गर्ने नियमित कार्यले सरकारलाई सिकाइका क्षेत्रमा गर्नुपर्ने आवश्यक सुधार गर्न सिफारिस गर्दछ। त्यस्तै यस कार्यले विद्यालयको सिकाइको स्तर पहिचान गर्दछ। उपलब्धिमा आधारित भएर शिक्षामा गर्नुपर्ने, गरिने सुधारका पक्षलाई अघि बढाउन प्रेरित गरिन्छ। परिक्षणपछि विद्यार्थीले आर्जन गरेको ज्ञान र सिपको औसत स्तर मापनको नतिजा सार्वजनिक हुन्छ। शैक्षिक स्तरलाई प्रभाव पार्ने विषय क्षेत्रको पहिचान हुन्छ। के कारण शैक्षिक उपलब्धि त्यस्तो भयो र यसका प्रभावहरु के हुन् ? कतिपय अवस्थामा सिकाइ उपलब्धिमा सुधार हुन थालेको देखिन्छ। सिकाइ उपलब्धिमा भएका सुधारका कारणको पहिचान गरी निरन्तरताका लागि आवश्यक सुधारका उपायसमेत सुझाइन्छ। विशेष रुपमा उपलब्धि मापनबाट विषयगत दक्षताको पहिचान हुन्छ। शिक्षकको विषयगत दक्षतामा वृद्धि गर्न अपनाउनुपर्ने उपायको समेत खोजी गरिएको हुन्छ।
नेपालमा विद्यार्थीहरुको शैक्षिक उपलब्धिको मापन गरी लेखाजोखा गर्न उपलब्धि परीक्षण गर्ने अभ्यासलाई अघि बढाइएको छ। सिकाइ उपलब्धिमा देखिएको अन्तरको विश्लेषण यसको अर्को उद्देश्य हुन सक्छ। त्यस्तै विद्यार्थीको उपलब्धिमा प्रभाव पार्ने तत्त्वहरुको पहिचान गरी त्यस्ता विषयमा समस्या समाधानका उपायहरुको खोजी गर्नु यसको अर्को उद्देश्य रहेको छ। उपलब्धिहरुको तुलना गर्ने मानक वा आधार तयार गर्न सहयोग गर्नु अर्को महत्त्वपूर्ण पक्ष हो। यसै गरी नेपालमा सन् १९९५ देखि सन् २०१० सम्मका सिकाइ उपलब्धि परम्परित सिद्धान्तका आधारमा संचालन गरिएका थिए। सन् २०११ देखि भने फरक रुपमा संचालन गर्दै आएको पाइएको छ। शैक्षिक गुणस्तर परीक्षणको स्थापनापछि परीक्षणको आधुनिक सिद्धान्तका आधारमा परीक्षणको काम सम्पादन गर्न थालिएको छ। नेपालको शैक्षिक उपलब्धिको परीक्षण ३, ५ र ८ मा संचालन हुँदै आएका छन्। शैक्षिक उपलब्धिको परीक्षणको कार्यसम्पादन गर्दा अन्तर्राष्ट्रिय अभ्यास समेत को अध्ययन गरी नेपालको उपलब्धि परीक्षण संचालन गर्न थालिएको छ। नेपालको सिकाइ उपलब्धिको सन् २०१३ र २०१७ को नतिजाको विश्लेषण गर्दा नेपाली विषयको उपलब्धिमा सुधार भएको देखिएको छ। विज्ञान र गणितको नतिजामा भने अपेक्षित परिवर्तन गर्न नसकेको अवस्था छ।
श्रोत शैक्षिक गुणस्तर परीक्षण केन्द्र , सानोठिमी, भक्तपुर


Comments
Post a Comment